राष्ट्रपतिले सैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु राम्रो होइन ः भट्टराई


भाद्र ९ सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक/पूर्वसैनिकसँग नागरिकता विधेयकबारे परामर्श गर्नु संविधान अनुकूल नभएको ट्विट मार्फत जानकारी दिएका छन् ।

उनले बिहीबार ट्विट गर्दै राष्ट्रपतिलाई संविधानले स्वविवेकीय अधिकार नदिएको उल्लेख गरेका छन । उनले भनेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकूल भएन, नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन । चुनावको मुखमा राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दल/नेतालाई सघाउन खोजेको भए झन् भएन !’

राष्ट्रपति भण्डारीले बुधबार शितल निवास बोलाएर सैनिक र पूर्वसैनिकसँग भेट गरेकी थिइन्। त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।

राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो । राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन् ।