सुदुरपश्चिममा एकीकृत समाजवादीलाइ धक्का, प्रदेश अध्यक्षद्वारा पार्टी परित्याग

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले आज पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

एमालेबाट विभाजित भएर पार्टी गठन भएको बर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् । शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको एकीकृत समाजवादी सुदूरपश्चिमका एक नेताले बताए ।

पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक सञ्जालमा भनेका छन्, ‘०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ।

पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्‍यायो । त्यसबापत पछुतो र आत्मग्लानि भएको छ। विगत ५–६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।’