बारामा एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा दुईजना पक्राउ

बारामा एक युवकको घाँटी रेटेर निर्ममता पूर्वक हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत जेठ ६ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा गोठ टोल देखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा राजवशी पासवानको छोरा २५ वर्षीय दीपक पासवानको शव भेटीएको थियो ।

अनुसन्धान गर्दा जेठ ३ गते राति उपमहानगरपालिकाको वडा नं.२० बसडिलवा टोल बस्ने शेख मीर हसनको छोरा वर्ष २० को शेख नवि आलम र सोही ठाउँ बस्ने शेख जैनुलको छोरा वर्ष २१ को शेख सलिम समेत पासवानको घाँटीमा धारिलो घरेलु हतियार प्रहर गरी निर्ममतापूर्वक घाटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अपराधबाट बच्नको लागि मृतकको शवलाई कठोह खोला छेउमा रहेको बालुवामा पुरेर उनीहरू गाउँघर छाडेर फरार भएका थिए ।

अनुसन्धानको क्रममा जेठ ८ गते उनीहरूलाई पक्राउ गरेर ज्यान सम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट सातको म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।