सरकारको नीति तथा कार्यक्रम आज आउने

हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि सरकारले नीति तथा कार्यक्रम मंगलबार संसदमा पेस गर्ने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको जनाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको छ ।
सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक-सामाजिक उन्नयनका कार्यक्रम समावेश गरिएको नीतिलगायतका विषय छन् । संघीय संसद् र प्रदेश सभाको निर्वाचन मंसिरमा गर्नुपर्नेछ । त्यसैले सरकारले नीति तथा कार्यक्रम र बजेट निर्वाचनलाई समेत केन्द्रमा राखेर बनाउने तयारी गरेको छ ।
गत वर्ष ८ जेठमा मध्यराति प्रतिनिधिसभा विघटन गरिएपछि सरकारको नीति तथा कार्यक्रम संसद्बाट आउन सकेन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट ‘नीति तथा कार्यक्रम’ वाचन गरेका थिए ।