पित्तबहादुरले प्रचण्डलाई भेटेर भने – केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ, गल्ती भयो

नेकपा एमालेमा प्रवेश गरेको एक दिनमै फेरि माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङ रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटि खुमालटार पुगेर फेरी माओवादीमै फर्किएका हुन् ।

पित्तबहादुरले आज बिहान प्रचण्डलाई भेटेर आफु केहि मान्छेको परिवन्दमा परेर बालकोट पुगेको बताए ।

नेकपा एमालेमा प्रवेश गरेको २४ घन्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्।

०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए ।

तर उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।

‘केही मान्छेको परिबन्दमा परेर बालकोट पुगेँ। यसमा मेरो गल्ती भयो तर मलाई मैले बनाएको पार्टी कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले दुई दिनसम्म छोडेनन्,’ अध्यक्ष प्रचण्डसँग डल्लाकोटीले भने, ‘सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु, म घर फर्केको छु।’