उदयपुरमा फेरि मतदान माग गरिएको रिटको पेसी न्यायाधीश भट्टराईको इजलासमा

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका-१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदैइ छ ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ । रिट निवेदक त्रियुगा नगरपालिकाको निवर्तमान प्रमुख बलदेव चौधरी रहेका छन् ।
निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई विपक्षी बनाउँदै दायर रिटमार्फत उनले जनप्रेमी आधारभूत मतदान केन्द्रमा फेरि मतदानको माग सम्मेत गरेका छन् ।
‘असहज र वर्षातको कारणले गर्दा ४ः३० बजे मतदान स्थगित रहेको थियो । पुनः मतदान यसै ठाउँमा प्रारम्भ हुनेछ’, निर्वाचन अधिकृतको कार्यालयले त्यस्तो व्यहोराको सूचना टाँसेर अन्ततः मतदान नगरेको चौधरीले जनाएका छन् ।
‘मतदान गर्ने मतदाताको अधिकार हो । मतदाताले आफ्ना प्रतिनिधि चुन्ने र चुनिने अधिकार पुणर्रुपमा पाउनु पर्छ’, उनले न्युज कारखानासँग भने, ‘तर, मतदान आफैं स्थगित गरेर नगरिँदा थुप्रै मतदाता छुटे । त्यही भएर फेरि मतदानको माग मैले गरेको छु ।’
मतदान गर्न नपाएको भन्दै प्रदेश सांसद सुनिता चौधरीले पनि उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छिन् ।
रिटको प्रारम्भिक सुनवाई गर्दै अदालतले विपक्षी निर्वाचन अधिकृतको कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
निवेदकको मागअनुसार अदालतले फेरि मतदान गर्न अन्तरिम आदेश भने जारी गरेन । अदालतको कारण देखाउ आदेशपछि बुधबारदेखि त्यहाँ मतगणना सुरु भएको छ ।
मतगणना सुरु हुनुपर्ने पक्षमा कांग्रेस र एमाले उभिएको थियो । फेरि, मतदानको पक्षमा भने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत पार्टी रहेका छन् । रातोपाटीमा समाचार छ ।