- मंसिर २८, २०८२
- No Comment
- 82
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव
सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ ।
स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीलाई सास्ती खेप्नुपरेको छ । खानेपानीको समस्या भएपछि गाउँबाट बोकेर ल्याउनु पर्ने बाध्यता रहेको घाटगाँऊ स्वास्थ्यचौकीका कार्यालय प्रमुख रंग प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
महिनौंदेखि खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहिन अवस्थामा रहेका छन् । स्वास्थ्यचौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाइ गर्न पानीको समस्या रहेको छ । बेलाबेला स्वास्थ्य शाखा र गाउँपालिकालाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको स्वास्थ्य चौकीका प्रमुख ढुङ्गानाको भनाइ रहेको छ । गाउँबाट पानी बोकेर ल्याएर पिउनु पर्ने बाध्यता छ, प्रत्येक दिन गाउँकै पानीको भर पर्नुपर्छ हिउँदको समयमा अझै खानेपानी गाउँमा पाउन मुस्किल हुने गरेको छ ।
खानेपानी अभावले बिरामी र स्वास्थ्य चौकीको बर्थिङ सेन्टर सञ्चालनमा समेत समस्या भएको छ । संवेदनशिल संस्थाहरुमा सरसफाई देखि अन्य प्रयोजनको लागि पनि पानीको ब्यवस्थापन हुनुपर्नेमा घाटगाँऊ स्वास्थ्य चौकीमा अझै पनि खानेपानीको उचित ब्यवस्थापन हुन सकिरहेको छैन ।