- असार १२, २०८३
- No Comment
- 0
सुर्खेतकाे पञ्चपुरी नगरपालिकाका युवालाई आवाज संस्थाद्वरा खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेत। आवाज संस्था र TDHको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत पञ्चपुरी नगरपालिकाका युवालाई खेल सामग्री वितरण तथा विपद् सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। युवालाई सामाजिक परिवर्तनको मूलधारमा जोड्ने, नेतृत्व विकास गर्ने तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। परियोजनाअन्तर्गत नगरपालिकाका विभिन्न वडामा गठन गरिएका युवा समूहलाई स्टेसनरीका सामान,र खेल सामग्री हस्तान्तरण गरिएको छ।
खेलकुदमार्फत युवालाई अनुशासित, सक्रिय र सकारात्मक गतिविधिमा संलग्न गराउँदै लागूपदार्थ दुर्व्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले खेल सामग्रीले युवामा आत्मविश्वास बढाउनुका साथै सामाजिक उत्तरदायित्वबोध, सहकार्य र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने बताएका छन्। खेलकुद गतिविधिले समुदायमा एकता, सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।परियोजनाअन्तर्गत युवाहरूलाई विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्न तीन चरणमा विपद् अनुकरण तालिम (Disaster Simulation Training) सञ्चालन गरिएको छ। बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा अपनाउनुपर्ने सावधानी, उद्धार तथा प्रतिकार्यसम्बन्धी सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा ७५ जना युवाको सहभागिता रहेको र उनीहरूलाई विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी व्यवहारिक अभ्यास गराइएको जनाइएको छ।त्यसैगरी, स्थानीय सरकारसँगको सहकार्यमा विपद् प्रतिकार्य सामग्री (Disaster Preparedness and Response Kits) खरिद गरी सम्बन्धित वडा कार्यालयहरूमा भण्डारण गरिएको छ। उच्च जोखिममा रहेका बस्ती तथा समुदायमा आवश्यक पर्दा तत्काल प्रयोग गर्न सकिने गरी सामग्री व्यवस्थापन गरिएको परियोजनाले जनाएको छ।युवा समूहहरूको सक्रियतामा बाढी, पहिरो र भूकम्पको जोखिम रहेका क्षेत्रहरूको पहिचान तथा सामुदायिक जोखिम नक्साङ्कनसमेत गरिएको छ।
जोखिमयुक्त स्थानको विवरण संकलन गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ, जसले भविष्यमा विपद् व्यवस्थापन योजना निर्माण तथा कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षारोपण अभियानसमेत सञ्चालन गरिएको छ। परियोजनाको सहकार्यमा विभिन्न वडामा करिब १ हजार २०० बिरुवा वृक्षारोपण गर्ने तयारी रहेको छ । यस अभियानले हरियाली प्रवर्द्धन, भूक्षय नियन्त्रण तथा वातावरणीय सन्तुलन कायम गर्न टेवा पुग्ने विश्वास लिइएको छ। परियोजनाले खेलकुद, नेतृत्व विकास, विपद् जोखिम न्यूनीकरण र वातावरण संरक्षणलाई एकसाथ जोडेर युवालाई समुदायको विकासमा सक्रिय बनाउने प्रयास गरेको छ। सहभागी युवाले यस्ता कार्यक्रमले आफ्नो क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा समुदायप्रति उत्तरदायी नागरिक बन्न प्रेरणा मिलेको बताएका छन्। परियोजनाअन्तर्गत सञ्चालन भएका गतिविधिले युवालाई सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र विपद् प्रतिकार्यसम्बन्धी व्यवहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको आवाज संस्थाका सामाजिक परिचालक तेजबहादुर रोकायले जानकारी दिनुभयो।



