- असार ११, २०८३
- No Comment
- 3
सुर्खेतकाे चौकुने गाउँपालिकाले सार्वजनिक गर्यो ६० करोड ७४ लाख १६ हजारको बजेट

सुर्खेत। चौकुने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६० करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको २०औँ अधिवेशनमार्फत गाउँपालिकाले समृद्ध, व्यवस्थित र विकासमुखी चौकुने निर्माण गर्ने लक्ष्यसहित बजेट तथा कार्यक्रम प्रस्तुत गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, खानेपानी, सडक पूर्वाधार, रोजगार प्रवर्द्धन, महिला तथा बालबालिका विकास, युवा तथा खेलकुद, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखिएको छ। स्थानीय आवश्यकताका आधारमा विकास योजनाहरू सञ्चालन गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले कृषि उत्पादन वृद्धि, व्यावसायिक खेती प्रवर्द्धन, सिँचाइ विस्तार तथा किसानलाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ। त्यसैगरी शिक्षा क्षेत्रमा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका कार्यक्रम पनि समेटिएका छन्। पूर्वाधार विकासअन्तर्गत ग्रामीण सडक स्तरोन्नति, पुल तथा खानेपानी आयोजना निर्माण र मर्मतका लागि बजेट विनियोजन गरिएको छ। साथै विपन्न, दलित, जनजाति, महिला तथा पिछडिएका समुदायको सशक्तीकरणका कार्यक्रमसमेत बजेटमा समावेश गरिएको जनाइएको छ। गाउँपालिकाले स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै दिगो विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
गाउँसभाको २०औँ अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सार्वजनिक गरिएको बजेट तथा कार्यक्रमले चौकुने गाउँपालिकाको समग्र विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



