- कार्तिक २७, २०८१
- No Comment
- 21
टायर पड्कँदा एकको मृत्यु, ६ जना घाईते
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् । मधेस प्रदेश ०३-००२ ख ०३०० न.को पेट्रोल लोड गरिएको ट्याङ्करको पन्चट भएको टायर खोली बनाई हावा भर्ने क्रममा टायर पड्किएपछि टायर पसलका मिस्त्री/साहू भारतको भोजपुर बस्ने महमद ऐजाजको मृत्यु भएको हो । टायर खोली बनाई हावा भर्ने क्रममा मङ्गलबार बिहान १ः०५ बजेको समयमा टायर पड्किन जाँदा नजिक रहेका ३४ वर्षीय ऐजाजको टाउको र शरीरको बायाँ भागमा चोट लागेर गम्भीर भएपछि भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । उनलाई डाक्टरले बिहान ४ः१६ बजे मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
टायर पड्किन जाँदा सोही पसलको कामदार पर्सा जिल्ला धोबिनी गाउँपालिका २ का वर्ष १८ का जाबिर हवारे, मधेस प्रदेश ०३-००२ख ०३०० न.को ट्याङ्कर चालक हेटौँडा ११ स्मारक बस्ने वर्ष ३९ को देवान लामा, धादिङ जिल्ला धुनिबेशी नगरपालिका २ भञ्ज्याङपोखरीका वर्ष २३ का उत्तम बस्नेत, हेटौँडा ११ नवलपुरका वर्ष ४७ का मोहनलाल दुलाल र अर्को ट्याङ्करका चालक धादिङ जिल्ला थाक्रे गाउँपालिका ८ का वर्ष ३८ का लक्ष्मण थापा घाइते भएका छन् । घाइतेमध्ये ट्याङ्कर चालक हेटौँडाका लामाको चुरे हिल अस्पतालमा उपचार भइरहेको र अन्य घाइते डिस्चार्ज भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।