- कार्तिक ६, २०८१
- No Comment
- 23
बाबियाचौरको बजारक्षेत्रमा छाडाचौपाय, व्यवस्थापनमा मौन स्थानीय सरकार
दिलिप कडेल, केही समय छाडा चौपाया नदेखिएको बाबियाचौर बजारक्षेत्रमा केहि दिनयता पुन सडकभरि छाडा चौपायाको लस्कर देखिन थालेको छ । सडक तथा चोक-चोकमा छाडा पशुचौपाया देखिन थालेसँगै बाबियाचौर बजारक्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ । सडकनै अवरोध हुनेगरी पशुचौपाया हिँड्दा सवारी साधन आवतजावतमा समस्या हुने गरेको छ । सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।बजारक्षेत्रका मुख्य चोक तथा सडक आसपासमा छाडा चौपायहरु दैनिक रूपमा देखिन्छन् । पशुचौपायका कारण नागरिकलाई सास्ती खेप्नु परेको छ । तर पनि स्थानीय सरकारले यस विषयमा ध्यान दिन सकेको छैन । पशुचौपाय र बजार व्यवस्थापन बाबियाचौर क्षेत्रको पहिलो आवश्यकता भएपनि स्थानीय सरकारले यसतर्फ ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरूले छाडा पशुचौपायलाई महत्त्वका साथ हेर्न नसकेको उनीहरूको गुनासो छ । छाडा पशुचौपायाको व्यवस्थापनका लागि पञ्चपुरी नगरपालिका वडा न -५ कोटीहोममा गौशाला सञ्चालन गरिएको छ । तर गौशाला व्यवस्थापन र सञ्चालनमा स्थानीय सरकारले पूणर् चासो दिन नसक्दा त्यसको प्रभाव बजार क्षेत्रमा परेको छ ।
स्थानीय सरकारले समयमै पशुचौपायाय व्यवस्थापनमा चासो नदिँदा बजार व्यवस्थापन, सडक सुरक्षा सवारी दुर्घटना न्यूनीकरणमा चुनौती देखिएको अस्थायी ट्राफिक प्रहरी कार्यालय बाबियाचौर का लक्ष्मण बहादुर बिष्टले बताउनु भएको छ । उहाँका अनुसार साँघुरा र सवारीसाधन आवतजावत गर्ने मुख्य सडकको बिचमा चौपायाहरू बसिरहेका हुन्छन्, सडकनै अवरोध गरिदिन्छन् ‘चौपाया यसरी बीच सडकमा बस्दा आफ्नै गतिमा हिँडेको सवारी साधन दुर्घटनामा पर्ने सम्भावना एकदमै धेरै हुन्छ, यसर्थ सरकारले कसरी हुन्छ चौपाया व्यवस्थापनमा ध्यान दिन जरुरी छ ।’बजारमा देखिने पशुचौपायालाई गौशाला पठाउने, बालीनाली खाँदै गरेको अवस्थामा लखेट्ने, सडकबाट हटाउने काम भएपनि सडकमा पशुचौपाया देखिने क्रम भने रोकिएको छैन । किसानहरुको लापरवाहीले पनि बजार क्षेत्रमा समस्या भएको छ । आफ्नो घरमा पालेका पशुचौपायलाई बजारमा ल्याएर छोडि दिने गरेका छन् ।
पालिकामा जनप्रतिनिधिहरू एकआपसमा समन्वय हुन नसक्दा समयमै छाडा चौपाया व्यवस्थापन गर्न समस्या भएको पनि बताईएको छ ।गौशाला व्यवस्थापनमा खटिनेहरू, सरसफाईक्षेत्रमा खटिने कर्मचारीहरूसँग जनप्रतिनिधिहरूको समन्वय कम हुने, आयस्रोत व्यवस्थापन नहुने र सामुदायिक वनहरूबाट पर्याप्त घाँसहरू ल्याउन नपाउने लगायतका विविध कारणले पशुचौपायहरुको व्यवस्थापन हुन नसकेको स्थानीयहरुको भनाइ रहेको छ ।
गौशालामा १ सय ५० वटा चौपाया राख्न सकिने गरी एउटा टहरा निर्माण गरिसकिएको छ । टहरा निर्माण भएसँगै सबै चौपायाहरूलाई व्यवस्थापन गर्न पालिकाले गौशाला सञ्चालन व्यवस्थापनका लागि ७ लाख बजेट विनियोजन गरेको छ । तर स्थानीय सरकार किन मौन ? बजार क्षेत्रका सबै चौक र सडकमा अहिले छाडा चौपाया रहेका छन् ।