- अशोज २९, २०८२
- No Comment
- 18
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय (Best School in Karnali Province, Nepal) को उपाधिबाट सम्मानित गरिएको छ । यो सम्मान विद्यालयको शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षाप्रतिको अटल प्रतिबद्धताको प्रतिफल भएकाे एकेडेमीका संचालक छत्र बडुवालले बताउनु भयाे ।
पुरस्कार समारोह नेपाल कलेज रिडर्सद्वारा आयोजना गरिएको थियो भने युनिभर्सिटी अफ ग्रीनविच, लन्डन (बेलायत) काे आतिथ्यता रहेकाे थियो । बुधबार (अक्टोबर १४, २०२५) मा सम्पन्न यस समारोहमा बेलायतका लागि नेपाली राजदूतावासका राजदूत श्री चन्द्र कुमार घिमिरे प्रमुख आतिका रूपमा उपस्थित रहनुभएकाे थियो ।
कार्यक्रममा युनिभर्सिटी अफ ग्रीनविच (बेलायत), लुम्बिनी बुद्धिस्ट युनिभर्सिटी (नेपाल) र मधेस युनिभर्सिटी (नेपाल) का उपकुलपति लगायतका प्रतिष्ठित शिक्षाविद् र प्रतिनिधिहरूको उपस्थिति रहेकाे थियो । यस अवसरमा SASA का प्राचार्य तथा व्यवस्थापन समितिका पदाधिकारीहरूले सम्मान ग्रहण गरेका थिए ।
विद्यालय प्रशासनले यो महत्त्वपूर्ण उपलब्धि विद्यार्थीहरूको अथक मेहनत, अभिभावकहरूको विश्वास, र शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूको निरन्तर सहयोगको प्रतिफल भएको बताएको छ। “हामी सदैव उत्कृष्ट शिक्षाको यात्रामा कटिबद्ध छौं र यो पुरस्कारले हामीलाई अझ बढी जिम्मेवार बनाएको छ,” विद्यालयका एक प्रतिनिधिले भने।
साउथ एसियन स्कालर्स एकेडेमीले आगामी दिनहरूमा पनि शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै समाजका लागि योग्य नागरिक उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।