
रौतहटको गढीमाई नगरपालिका-७ धरमपुरस्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालक रितिक यादवको मृत्यु भएको छ ।
घटना २०८३ साल असोज १४ गते बिहान ९:१५ बजेको हो । घरअगाडि खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरालाई धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना ६ त ८४९२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागेका बालकलाई गरुडास्थित बेटर नेपाल अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान १०:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
अस्पतालबाट खबर पाएसँगै प्रहरी चौकी धरमपुरबाट असई कृष्णमोहनप्रसाद गुप्ताको नेतृत्वमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटना गराउने ट्याक्टर घटनास्थलमै छाडेर चालक फरार भएका छन् भने उनको खोजी कार्य भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा विशेष (SOCO) टोली खटिएको छ । यसैबीच, प्रहरीले ट्याक्टरधनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको ट्याक्टर प्रहरी चौकीमा ल्याउने तयारी भइरहेको छ ।


