
बाजुरा । बाजुरामा अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा करिब चार वर्षपछि फैसला आउने भएको छ। बाजुरा जिल्ला अदालतमा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा मुद्दाको सुनुवाइ तथा बहस सकिएसँगै फैसला सुनाउने तयारी गरिएको हो।
बुधबार र बिहीबार लगातार दुई दिन भएको बहसपछि अदालतले फैसला सुनाउने तयारी गरेको हो। जाहेरवाला चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलसहित वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए।
मुद्दामा २४ जना प्रतिवादी छन्। तीमध्ये सात जना पुर्पक्षका लागि थुनामा, ११ जना धरौटीमा र छ जना साधारण तारिखमा रहेको अदालतको मुद्दा विवरणमा उल्लेख छ।
अभियोगपत्रमा छ जना प्रतिवादीलाई मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम जीवनभर आजीवन कैद तथा बाँकी १८ जनालाई दफा १७७ बमोजिम २५ वर्ष कैद सजाय माग गरिएको छ।
२०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा बाजुराको कैलाशमाडौँमा अयडीको हत्या भएको थियो। निर्वाचनका बेला ठूलो समूहले उनको घर घेरा हाली कुटपिट गरेर हत्या गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।
थुनामा रहेका प्रतिवादीमा धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी, लोकेश अयडी, जीवन अयडी र पदम अयडी छन्। धरौटीमा रहेका प्रतिवादीमा मंगल भन्ने मदनबहादुर अयडी, निरजबहादुर अयडी, नरबहादुर अयडी, उद्धवबहादुर अयडी, रतनबहादुर अयडी, अनिता रौले अयडी, मोहनबहादुर अयडी, नवीनबहादुर अयडी, ईश्वरीदेवी अयडी, धनादेवी अयडी र नरेशबहादुर अयडी रहेका छन्।
त्यस्तै, साधारण तारिखमा भूपाल अयडी, चक्र अयडी, रुपा चौधरी अयडी, जुद्ध अयडी, रनसिंहबहादुर अयडी र विनोद अयडी रहेका छन्।



