- कार्तिक २६, २०८१
- No Comment
- 30
रवि लामिछानेलाई रुपन्देही लैजाने प्रहरीको तयारी
प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी गरेको छ । सहकारीको रकम हिनामीना प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले आजै रुपन्देही लैजाने तयारी गरेको हो । सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको थियो । आइतबार मात्रै उनलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ ।
कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेलगायतको प्रकरणमा अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरीले भने उनीमाथि बुटवलमा रहेको सुप्रिम सहकारीलगायतको रकम अपचलनमा अनुसन्धान गर्न लागेको हो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पक्राउ गर्न अनुमति प्रहरीलाई दिइसकेको छ ।
अदालतबाट अनुमति पाएसँगै रुपन्देही प्रहरीले कास्की प्रहरीलाई रूपन्देहीमा पठाइदिन भनिसकेको छ । सोही प्रकरणमा सम्भव भए आजै उनलाई रुपन्देही लगिने भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उता रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ । यही विषयलाई लिएर उसले सडक आन्दोलन गर्दै आएको छ ।