• कार्तिक २, २०८२
  • No Comment
  • 260

यमराजको दूत कागलाई मीठो खानेकुरा दिएर काग तिहार मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्व आज देशभर श्रद्धा र भक्ति पूर्वक मनाइँदैछ। यमराजका दूतका रूपमा मानिने कागलाई बिहानै मीठा खानेकुरा, विशेषगरी दही भात, अर्पण गरी पूजा गरिँदैछ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज आइतबार सूर्योदयको समयमा त्रयोदशी तिथि परेको कारण शास्त्रीय विधिअनुसार यही दिन काग तिहार मनाइने निर्णय गरिएको हो।

हिन्दु धर्मशास्त्र अनुसार कागलाई यमराजका दूतका रूपमा मानिन्छ। जनविश्वासअनुसार कागले यमराजलाई पृथ्वीको खबर पुर्‍याउने गर्छ, त्यसैले आजको दिन कागलाई खुसी पार्दा यमराजसमक्ष शुभ सन्देश पुग्ने विश्वास छ।
लोकप्रचलनमा पनि काग घर वरिपरि कराएमा शुभ समाचार ल्याएको मानिन्छ र “शुभ बोल, शुभ बोल” भन्दै स्वागत गरिन्छ।

‘काकेन दधि भक्षितम्’ भन्ने उक्ति अनुसार कागलाई दहीभात मन पर्ने भएकाले आज दहीभात, अन्न र मीठा परिकार अर्पण गर्ने चलन छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आयोजना गरिएको छ। हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको मूर्तिलाई विशेष रूपमा पूजाअर्चना गरिँदैछ।

तिहार पर्वको सुरुवातसँगै यम दीपदान पनि सुरु भएको छ। शनिबार साँझदेखि परिवारका सदस्यका नाममा दक्षिण फर्काएर दीपदान गर्ने परम्परा रहेको छ। यसलाई यमयातनाबाट मुक्ति प्राप्त गर्ने उपाय मानिन्छ।

यस वर्ष तिथिको घटबढका कारण शनिबार साँझैदेखि यमपञ्चक सुरु भइसकेको हो। त्यसै दिन धनतेरस पर्व पनि मनाइएको थियो, जसमा गरगहना र तामाका भाँडाकुँडा किन्ने परम्परा छ। धार्मिक विश्वास अनुसार यस दिन खरिद गरिएका वस्तुले लक्ष्मी स्थिर राख्ने मान्यता छ।

काग तिहारसँगै सुरु भएको पाँचदिने यमपञ्चक (तिहार) पर्व क्रमशः कुकुर तिहार, गाई तिहार, गोवर्द्धन पूजा, भाइटीका आदि उत्सवसँग निरन्तर मनाइनेछ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *