- कार्तिक २, २०८२
- No Comment
- 20
पहिलोपटक हुने ब्लाइन्ड महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपाल (सीएबी नेपाल)ले पहिलोपटक आयोजना हुन लागेको टी–२० ब्लाइन्ड महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ सदस्यीय राष्ट्रिय महिला टोली घोषणा गरेको छ।
यो ऐतिहासिक विश्वकप प्रतियोगिता आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुनेछ। नेपाललाई प्रारम्भमा सह–आयोजक देशका रूपमा चयन गरिएको भए पनि आन्तरिक राजनीतिक कारणले प्रतियोगिता पछि श्रीलंकामा सारिएको हो।
घोषित टोलीमा गीता पौडेललाई कप्तानको जिम्मेवारी दिइएको छ। टीममा देशका विभिन्न प्रदेशका प्रतिभावान दृष्टिविहीन महिला खेलाडीहरू समावेश गरिएको छ।
टोलीका मुख्य प्रशिक्षक पूरनसिंह खत्री, सहायक प्रशिक्षक नहेन्द्र निरौला र व्यवस्थापक भगवती भट्टराई बराल नियुक्त भएका छन्।
सन् २००६ मा नेपालमै ब्लाइन्ड महिला क्रिकेटको सुरुवात भएको थियो। हाल यो खेल भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान, अमेरिका लगायत सात देशमा फैलिएको छ। यस विश्वकपले नेपालमा दृष्टिविहीन खेलकुदको विकासमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।
घोषित नेपाली टोली:
गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्ली सारा धमला, देवकी थापा मगर, अंगिला ढकाल, मन्केशी चौधरी, कान्ती दगौरा, सरिता घिमिरे, सुनिता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, येसेरा माया लुङ्गेली मगर, बिमला राई र प्रतिभा राई।
नेपालले यस विश्वकपमार्फत पहिलोपटक अन्तर्राष्ट्रिय ब्लाइन्ड महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदै ऐतिहासिक उपस्थितिको तयारी गरेको छ।