- मंसिर २३, २०८१
- No Comment
- 40
आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी बायुका कारण आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ ।
कतै हुस्सु-कुहिरो र कतै वर्षा-हिमपातको असरले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा असर पर्न सक्ने र जाडो पनि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष हिउँदे बुलेटिन जारी गरी वर्षा र हिमपातको प्रक्षेपण सार्वजनिक गरेको थियो ।
महाशाखाका मौसमविदहरुका अनुसार अहिलेको प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।
यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले गत असोजमो ऋतुगत जलवायु आँकलन सार्वजनिक गर्दै यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने जनाएको थियो । यस पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले जनजीवनलार्इ प्रभाव पर्ने भएकाले अावश्यक शतर्कता अपनाउन महाशाखाले विशेष अनुराेध गरेकाे छ ।