- साउन २८, २०८२
- No Comment
- 204
शिक्षा विधेयकप्रति प्याब्सन कर्णालीको आपत्ति, आन्दोलनको चेतावनी

सुर्खेत – शिक्षा विधेयकमाथि कर्णाली प्रदेशका निजी विद्यालय सञ्चालकहरूले असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्। प्याब्सन कर्णालीका अध्यक्ष नोखबहादुर खत्रीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले हाल संसदीय समितिमा छलफल भइरहेको शिक्षा विधेयकमा उल्लेख गरिएको निजी विद्यालयलाई गैरनाफामुखी बनाउने र १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधानबारे गम्भीर आपत्ति जनाएको हो।
बैठकमा प्याब्सन बिरेन्द्रनगरका अध्यक्ष पूर्ण भण्डारी, प्याब्सन गुर्भाकोटका अध्यक्ष दिपक नेपाली, जिल्ला प्याब्सन सुर्खेतका सचिव प्रकाश खत्री, उपाध्यक्ष मीना देवकोटा, वरिष्ठ उपाध्यक्ष हरिलाल खड्का, जिल्ला अध्यक्ष छत्र बडुवाललगायतले आफ्नो धारणा राखे। वक्ताहरूले विधेयकका प्रावधानहरूले निजी विद्यालयको अस्तित्व नै संकटमा पार्ने चेतावनी दिए।
बैठकमा केन्द्रीय खेलकुद विभाग सदस्य प्रकाश शाहीले सरकारले विगतदेखि नै निजी विद्यालयप्रति सौतेलो व्यवहार गर्दै आएको आरोप लगाए। उनले यस्तो नीतिले शिक्षाक्षेत्र बन्द हुने, विद्यार्थी विदेश पलायन बढ्ने र ठूलो परिमाणको राष्ट्रिय पूँजी बाहिरिने खतरा रहेको बताए।
केन्द्रीय सदस्य कल्पना कार्कीले सम्पूर्ण लगानी गरेर स्थापना भएका, राज्यबाट अनुमतिप्राप्त कम्पनी स्वरूपका निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा राज्यको एक तिहाइ भार बोकिरहेको उल्लेख गर्दै, यस्तो संस्थालाई पन्छाउने प्रयास शैक्षिक विकासलाई ध्वस्त पार्ने कदम भएको बताइन्।
प्याब्सनका राष्ट्रिय उपाध्यक्ष नैनसिंह खत्रीले निजी विद्यालय कम्पनीमै रहनुपर्ने र विधेयकमा ‘गैरनाफामुखी’ शब्द हटाउनुपर्ने माग गरे। उनले हाल दिइँदै आएको १० प्रतिशत छात्रवृत्तिलाई निरन्तरता दिने तर पूर्ण छात्रवृत्ति आवास, यातायातसहितको व्यवस्था सम्भव नभएको स्पष्ट पारे। अन्यथा आन्दोलनमा जानुपर्ने चेतावनी दिए।
बैठकका प्रमुख वक्ता तथा प्याब्सन केन्द्रीय सल्लाहकार नवराज गुरुङले सामाजिक जिम्मेवारी पूरा गर्न सकिने तर विधेयकका नयाँ प्रावधानहरू विद्यालय सञ्चालनका लागि असह्य हुने टिप्पणी गरे। उनका अनुसार १५ प्रतिशत पूर्ण छात्रवृत्ति, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता लगायतका प्रावधानले विद्यालय सञ्चालन नै असम्भव बनाउन सक्छ।
बैठकमा अधिकांश वक्ताहरूले विधेयक निजी विद्यालयका लागि असन्तोषजनक रहेको निष्कर्ष निकाले। अध्यक्ष नोखबहादुर खत्रीले राज्यले निजी विद्यालयलाई समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउँदै माग पूरा नभएमा प्याब्सन केन्द्रको निर्देशनअनुसार आन्दोलनमा जाने घोषणा गरे।
बैठकमा केन्द्रीय सल्लाहकार, केन्द्रीय उपाध्यक्षलगायतको सहभागिता थियो। अध्यक्ष खत्रीले सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक समापन गरेका थिए।




