• असार २६, २०८२
  • No Comment
  • 141

आषाढ शुक्ल पूर्णिमा : देशभर गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमाको दिन गुरु पूर्णिमा तथा व्यास जयन्ती देशभर विविध कार्यक्रम गरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

यस दिन गुरुप्रति श्रद्धा, समर्पण र सम्मान प्रकट गर्दै शिक्षा दिने गुरुजनलाई विविध विधिमा सम्झने गरिन्छ। तान्त्रिक र धार्मिक ग्रन्थअनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश भएकोले अज्ञानरूपी अन्धकार नाश गरी ज्ञानरूपी प्रकाश फैलाउने व्यक्तिलाई गुरु मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको रूपमा समेत मानिन्छ। यसै आधारमा विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको श्लोक यस प्रकार छ —

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।

यस दिन देशभरका विद्यालय, शिक्षालय, गुरुकुल तथा संघसंस्थामा विविध कार्यक्रम आयोजना गरी गुरुजनप्रति कृतज्ञता प्रकट गर्ने परम्परा रहेको छ।

त्यस्तै, आजै वेद विभाजन गरी धर्म, दर्शन तथा पुराणको गहिरो अध्ययन र प्रचारप्रसारमा योगदान पुर्‍याएका वेदव्यासको जन्मोत्सवका रुपमा व्यास जयन्ती समेत मनाइँदैछ। चार वेद—ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदलाई व्यवस्थित रूपमा विभाजन गरी १८ पुराण र १८ उपपुराणको रचना गरेका व्यासले महाभारतजस्तो महाकाव्य समेत सिर्जना गरेका थिए।

व्यासले पुराणहरूमा दिएको मानवीय सन्देश यसरी उल्लेख गरिएको छ —

अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् ।
परोपकाराय पुण्याय, पापाय परपीडनम् ।।

अर्थात्, अरूको उपकार गर्नु पुण्य हो भने अरूलाई पीडा पुर्‍याउनु पाप हो भन्ने सन्देश उनले दिएका छन्।

गुरु पूर्णिमा र व्यास जयन्तीको यस पवित्र अवसरमा विभिन्न धार्मिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रद्धालुहरूले देशभर उत्साहपूर्वक पर्व मनाइरहेका छन्।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *