- बैशाख ११, २०८२
- No Comment
- 6
काठमाडौंको ढुंगेअड्डामा गुडिरहेको बसमा आगलागी

काठमाडौं ।काठमाडौंको ढुंगेअड्डास्थित पिपलबोट नजिकै गुडिरहेको एक सार्वजनिक बसमा बुधबार दिउँसो अचानक आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका–१५ स्थित कलंकीबाट थानकोटतर्फ जाँदै गरेको पाँचपोखरी यातायातको बा.१.ख ९७८६ नम्बरको बसमा आगो लागेको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार आगलागी बसको इन्जिनबाट सुरु भएको हो। “सडकमा गुडिरहेको अवस्थामा बसको इन्जिनबाट अचानक आगो सल्किएको र बस पूर्ण रूपमा जलेर नष्ट भएको छ,” एसपी बोहराले जानकारी दिए।
यात्रुहरू समयमै सतर्क भएर बाहिर निस्किएका कारण कुनै पनि मानवीय क्षति भएको छैन। घटनाका बेला यात्रुहरू आत्तिएर झर्ने क्रममा स्थानीयहरूले सहयोग गरेका थिए।
चन्द्रागिरी नगरपालिकाको दमकल, पानी ट्यांकर, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा आगो नियन्त्रणमा लिइएको हो।