- चैत्र २९, २०८१
- No Comment
- 18
आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।हाल देशभर पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण मौसम बदली भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ।
विभागका अनुसार, आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा र अन्य भू-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र चट्याङ्गको सम्भावना छ। साथै, उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको मौसमको पूर्वानुमानअनुसार, देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनसक्नेछ। साथै, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
विभागले मेघगर्जन, चट्याङ्ग, वर्षा र हिमपातका कारण स्वास्थ्य, कृषि, यातायात तथा दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।