- पुस २४, २०८१
- No Comment
- 8
भूकम्पको मनोवैज्ञानिक असर कायमै, चनाखो हुन आग्रह
मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्रा बाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्याउँदै सडक र गल्लीमा जम्मा भए । कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा भागाभाग भयो ।
भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्से स्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्ष अघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौं उपत्यका सहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए भने अर्बौं रकम बराबरको भौतिक क्षति भएको थियो ।
अनावश्यक त्रास नफैलाउन आग्रह
खानी तथा भू(गर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प सम्बन्धी अनावश्यक त्रास फैलाउने किसिमको भ्रमपूर्ण सन्देश प्रवाह नगर्न आग्रह गरेका छन्। “भूकम्प पछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उनले भने, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्ने जस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन । भूकम्पको भविष्यवाणी सम्भव छैन ।” उनले आधिकारिक सूचना मात्रै ग्रहण गर्न आग्रह गरेका छन् ।
पूर्वतयारी र सचेतनाको जरुरी
केन्द्रका वरिष्ठ भूकम्पविद् डा. अधिकारीले भूकम्प गएमा के गर्ने ? कसरी संयमता अपनाउने ? सुरक्षित हुने तरिकाहरु के हुन् ? लगायत विषयमा सचेतना बढाउनुपर्ने र भूकम्पका कारण हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी के–के हुने भन्ने विषयमा तयारी गर्नुपर्ने बताए । उनले पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले हाल सम्म भूकम्प सम्बन्धी पूर्वसूचनाहरु विकास नभएको भन्दै यस विषयमा थप अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
उनले चीनमा गएको भूकम्प पछि हिमताल फुट्ने जोखिम बढेको समेत उल्लेख गरे । “भूकम्पका कारण हिमताल फ्ट्ने जस्ता जोखिम देखिएमा धनजनको सुरक्षाका लागि हामी पूर्वसूचना प्रवाह गर्छौं । आधिकारिक सूचनाको मात्रै विश्वास गर्न आग्रह गर्छु”, जोशीले भने ।
राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले उक्त भूकम्पका परकम्पहरु निरन्तर आइरहेको र थप परकम्प आउनसक्ने भएकाले सम्भाव्य जोखिमलाई मध्यनजर गरी तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् । संयमता पूर्वक विपद् व्यवस्थापन गर्नु पर्नेमा उनको जोड रहेको छ ।
किन जान्छ भूकम्प ?
सामान्यतया पृथ्वीको सतह भित्र कम्पन हुँदा भूकम्पको धक्का महसुस हुन्छ । पृथ्वीको सतहमा हलचल उत्पन्न गर्दा पृथ्वीको भित्री भागमा रहेको तनाव धेरै बढ़्छ र त्यो असन्तुलनका कारण ऊर्जा मुक्त हुँदा जमिन हल्लिन्छ । यस कम्पनले पृथ्वीको सतहमा झट्का उत्पन्न गर्दछ र यसलाई भूकम्प भनिन्छ । पृथ्वीको बाह्य सतह (लिथोस्फीयर) विभिन्न ठूला टुक्रामा विभाजित छ जसलाई भूकम्पीय प्लेट भनिन्छ । यी प्लेटहरू एक अर्कामा चढ्छन्, जसले भूकम्पको ल्याउँछ ।
खानी तथा भू–गर्भ विभाग अन्तर्गत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प एक भौगर्भिक प्रक्रिया हो जसलाई रोक्न तथा हाल सम्मको अध्ययन अनुसन्धान बाट यसको भविष्यवाणी गर्न सकिएको छैन । टेक्टोनिक प्लेटहरुबीचको अन्तर सङ्घर्षको कारणले भूकम्पहरु जाने गर्दछन् । स(साना भूकम्प हरेक दिन जाने गरेका छन् भने ठूला भूकम्प केही वर्षको अन्तरालमा जाने गर्दछन् । हरेक दिन जाने साना भूकम्पहरुले सञ्चित ऊर्जा निसृत गर्न सक्दैनन् त्यसैले बेलाबेलामा ठूला र विनाशकारी भूकम्पहरु जाने गर्दछन् ।
“विगतमा हिमालय क्षेत्रमा ठूला ठूला भूकम्प गइसकेका छन् । सन् १८९७ मा भारतको आसाम, सन् १९०५ मा भारतको काङ्गरा, सन् १९३४ मा नेपाल–भारतको सिमाना र सन् १९५० मा भारतको आसाममा गएका पछिल्ला अन्तर महादेशीय महाभूकम्पहरु हुन्”, केन्द्रले भनेको छ ।
पश्चिममा अफगानिस्तान देखि पूर्वमा म्यान्मा (बर्मा) सम्मको करिब दुई हजार पाँच सय किलोमिटर लामो सक्रिय हिमशृङ्खलाको मध्य भागको करिब आठ सय किलोमिटर (एक तिहाइ) भाग नेपाल हिमालयले ओगटेको छ । टेक्टोनिक प्लेट बीचको टकराव र ऊर्जा सञ्चिति र समय–समयमा बिनाशकारी भूकम्पको माध्यम बाट हुने विसर्जनका कारण नेपाल हिमालय भूकम्पीय जोखिमका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्रमा परेको केन्द्रको भनाइ छ ।