• कार्तिक १५, २०८१
  • No Comment
  • 216

धनधान्यकी देवी लक्ष्मीको पुजा र कुकुर तिहार आजै

आज तिहार पर्व अन्तर्गत धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै छ । आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा दीपमालिका परेको छ ।

आज विहानै सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलिमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् बताउँछन् ।

आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उनले बताए ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लक्ष्मी पूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलिमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ । यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ ।

सम्बन्धित खबर

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध हुने तयारी

जन्मदर्ता र विवाह दर्ता प्रमाणपत्र पनि नागरिक एपमै उपलब्ध…

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल माध्यममार्फत सहज बनाउने लक्ष्यसहित जन्मदर्ता, विवाह दर्तालगायतका प्रमाणपत्र नागरिक एप मार्फत उपलब्ध गराउने तयारी…
दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

दीपक खड्काको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालत ले दीपक खड्का सँग सम्बन्धित रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ…
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुर खड्कालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का लाई ७ दिने स्पष्टीकरण सोधेको छ । बुधबार बसेको पार्टीको अनुशासन…

Leave a Reply

Your email address will not be published. Required fields are marked *