- कार्तिक ६, २०८१
- No Comment
- 21
हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
विगत चार महिनादेखि गुल्मीमा पटक पटक हवाई उडान अनियमित हुँदा यात्रुहरु समस्यामा परेका छन् । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।
टिकट काटेर पनि पटकपटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले जानकारी दिएका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोसित छन् । बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । साताको दुई पटक नियमित उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उनले जानकारी दिए ।
गुल्मी‐काठमाडौँका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ । यात्रुको चापका कारण साताको चार पटकसम्म यहाँ उडान हुँदै आएको थियो । नेपाल वायुसेवा निगमले रेसुङ्गादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट रु सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेकोे छ । जिल्लामा गत एक वर्ष अघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो ।