
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भ्रष्टाचार नियन्त्रण र दोषीमाथि कारबाही गर्न सरकार अघि बढे आफ्नो पार्टीले साथ दिने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले राप्रपा सरकारको प्रतिपक्षी भए पनि विरोधी नभएको बताए। सरकारले प्रतिशोधको भावना त्यागेर सुशासन र रोजगारीका क्षेत्रमा ठोस काम गरे आफ्नो दलले बिनासर्त सहयोग गर्ने उनको भनाइ थियो।
उनले एनसेल, गिरीबन्धु टी–स्टेट, भुटानी शरणार्थी प्रकरण र चिनियाँ विमान खरिदसम्बन्धी विवादको छानबिन कहाँ पुगेको हो भन्नेबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरे। कानुनको प्रयोग प्रतिशोधका लागि नभई न्यायका लागि हुनुपर्नेमा उनले जोड दिए।
शाहीले आन्दोलनका क्रममा भएका हत्या, हिंसा तथा सिंहदरबार र संसद् भवन तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकार उदासीन बनेको आरोपसमेत लगाए।
युवाको विदेश पलायन रोक्न स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्ने भन्दै उनले ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने अवधारणासहित संविधान संशोधनको प्रक्रिया अघि बढाउनसमेत माग गरे।



