
नेपाली कांग्रेसको मोरङ क्षेत्र नम्बर ६ मा जारी अधिवेशनका क्रममा भएको झडपमा परी तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा पूर्व प्रदेश सांसद तथा नेता चुम नारायण तबदार, सौरभ पोखरेल र चेतराज रेग्मी रहेका छन्। उनीहरूको नोबेल मेडिकल हस्पिटलमा उपचार भइरहेको छ। मनोनयन दर्ताको समयभन्दा अगाडि कार्यक्रम सुरु हुनै लाग्दा सो झडप तथा तोडफोड भएको हो।
घटनाका सम्बन्धमा दुवै पक्षबाट फरक–फरक दाबीहरू आएका छन्। नेपाली कांग्रेसकी केन्द्रीय उपमहासचिव डा. डिला संग्रौलाले क्षेत्रीय सभापति देबु तामाङको योजनामा फलाम प्रहार गरी साङ्घातिक आक्रमण भएको आरोप लगाएकी छन्। आफू कार्यक्रमको प्रमुख अतिथि रहेको बताउँदै उनले सभापतिको निर्देशनमा आक्रमण भएको दाबी गरिन् र क्षेत्रीय सभापति तामाङलाई पार्टीबाट निलम्बन गर्न माग गरेकी छन्।
उता, क्षेत्रीय सभापति देबु तामाङले भने नेता संग्रौलाकै कारण झडप भएको दाबी गरेका छन्। केही साथीहरूको जिम्मेवारी मौखिक रूपमा खोसिएर अर्कैलाई दिएको कारण कार्यक्रममा तोडफोड भएको उनको भनाइ छ। डा. संग्रौलाले अशोक रिजाललाई प्रदेश सभापतिको उम्मेदवार बनाएको र मात्रिका चापागाईंलाई उठाउने भनी झगडा लगाएको आफूले थाहा पाएको तामाङले बताएका छन्। प्रत्येक ठाउँमा गुटका नाममा झगडा भइरहेको पनि उनले दाबी गरेका छन्।



