
कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५ बजे च्याउ टिप्न उक्त सामुदायिक वनमा गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे शुक्रबार बिहान ८:०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त भएलगत्तै प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा चार जनाको प्रहरी टोली बिहान ८:४५ बजे घटनास्थलतर्फ पुगेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ। उक्त घटनाबारे हाल थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

