
दिलिप कडेंल, सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–७ स्थित भेरिलाग्ने, जुम्ल्यामुल र कोलगाडमा स्थानीयको निरन्तर पहल, अथक मेहनत, आवश्यक समन्वय तथा स्थानीयबासीको अभूतपूर्व एकताका कारण विद्युत् सेवा विस्तार भएको छ। वर्षौंदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयबासीको निरन्तर प्रयासपछि नेपाल विद्युत् प्राधिकरण सुर्खेतको समन्वयमा ११ केभी विद्युत् लाइन विस्तार गरी उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालनमा ल्याइएको हो।
विद्युत् विस्तार कार्यमा नेपाल विद्युत् प्राधिकरण सुर्खेतका सहायक इन्जिनियर ब्रिजेस रञ्जित र इन्जिनियर योगेश सुनारको प्राविधिक सहयोग तथा समन्वय रहेको जनाइएको छ। यस अभियानमा समाजसुधार युवा क्लब चौकुने–७ का अध्यक्ष शिवराज न्यौपाने र सल्लाहकार सदस्य सुर्य बहादुर बि सी सहित स्थानीयबासीको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।
स्थानीयको एकता, सक्रियता र निरन्तर पहलका कारण अन्ततः भेरिलाग्ने, जुम्ल्यामुल र कोलगाडका बस्तीमा विद्युत् सेवा पुगेपछि स्थानीयबासीमा खुसी छाएको छ। विद्युत् सेवा विस्तारसँगै स्थानीयबासीको दैनिक जीवन सहज हुनुका साथै शिक्षा, सञ्चार, व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।



