
वर्षाका कारण धादिङलगायत चितवन आसपासका क्षेत्रमा पहिरोको उच्च जोखिम बढेपछि स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको चितवन खण्डमा राति १० बजेदेखि सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै रातको समयमा सडक यात्रा निकै जोखिमपूर्ण हुने भएकाले सुरक्षाका दृष्टिकोणले यस्तो कदम चालिएको स्पष्ट पारेका छन्। प्रशासनले यात्रुहरूलाई रातको समयमा यात्रा नगर्न आग्रह गर्दै अति आवश्यक परेमा मात्र सुरक्षा निकायसँग समन्वय गरेर मात्र अघि बढ्न सुझाव दिएको छ। निरन्तरको वर्षाले सडकको अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर प्रशासनले शनिबार रातिदेखि नै सडक सञ्चालनमा रोक लगाउँदै आएको छ।



