
नक्कली शैक्षिक प्रमाणपत्रको सहारामा सरकारी जागिर खाएका सुनसरीको रामधुनी नगरपालिकाका नगर प्रमुख शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरी अन्ततः दोषी ठहरिएका छन्। विशेष अदालत, काठमाडौँले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम चौधरीलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले असार ३० गते यो ऐतिहासिक फैसला सुनाएको हो। चौधरीले रामधुनी नगरपालिकामा इन्जिनियर पदमा नियुक्त हुनका लागि भारतबाट प्राप्त गरेको भनिएको उच्च माध्यमिक तह (प्लस टु) को शैक्षिक प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट पुष्टि भएको थियो। सरकारी लाभ र पद प्राप्तिका लागि कीर्ते कागजपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ भदौ ३१ गते उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले सार्वजनिक सेवामा प्रवेश गर्न झुटो विवरण पेस गर्ने कार्य गम्भीर भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै चौधरीलाई सो सजाय सुनाएको हो।



