
सुर्खेत । दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशका १० वटै जिल्लामा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना, २०८३ तयार गरेको हो। उक्त योजना असोज २५ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार सुरक्षा योजना कार्यान्वयनका लागि मोबाइल गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, द्रुतप्रतिकार्य टोली तथा लामो र छोटो दूरीका गस्ती परिचालन गरिनेछ। त्यसैगरी, विशेष तथा आकस्मिक चेकजाँच, ट्राफिकसहितको संयुक्त चेकिङ, धार्मिक तथा पर्यटकीयस्थलको सुरक्षा र यात्रु सहायता कक्ष सञ्चालन गरिनेछ।
चाडपर्वका समयमा हुन सक्ने झैझगडा, हुलदङ्गा, ठगी, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण गर्नुका साथै सार्वजनिकस्थल तथा मेलापर्वमा सुरक्षा व्यवस्था कडा बनाइने प्रहरीले जनाएको छ। नागरिकले भयमुक्त वातावरणमा चाडपर्व मनाउन सकून् भन्ने उद्देश्यले सुरक्षा योजना लागू गर्न लागिएको प्रहरी नायब महानिरीक्षक सापकोटाले बताए।



