
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाको ‘गाउँ युवा परिषद्’ उपाध्यक्षमा युवा अभियन्ता सिम्रन विश्वकर्मा नियुक्त भएका छन्। गाउँपालिका अध्यक्ष गणेशबहादुर थापासहित जनप्रतिनिधि तथा अग्रजहरूको उपस्थितिमा उनलाई नियुक्तिपत्र हस्तान्तरण गरिएको हो।
भगवतीमाई गाउँपालिका–१ मा जन्मिएका विश्वकर्मा सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्। विशेषगरी युवाहरूलाई समेटेर विभिन्न रचनात्मक तथा सामाजिक गतिविधिमा योगदान पुर्याउँदै आएका उनले नयाँ जिम्मेवारीसँगै युवाहरूको हकहित संरक्षण, क्षमता विकास र समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफूलाई विश्वास गरी जिम्मेवारी प्रदान गर्ने जनप्रतिनिधि तथा अग्रजहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा युवा लक्षित प्रभावकारी कार्यक्रम सञ्चालन गर्न गाउँपालिकावासी, जनप्रतिनिधि र युवाहरूको साथ तथा सहयोगको अपेक्षा गरेका छन्।



