- चैत्र २५, २०८२
- No Comment
- 25
पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशभर मौसम बदली भई पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश मा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।
विभागका अनुसार अहिले बागमती प्रदेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसमविद् रोजन लामिछाने ले दिउँसोपछि वर्षा अझै बढ्ने र केही स्थानमा भारी वर्षा तथा हिमपातसमेत हुन सक्ने जानकारी दिए।
विभागमा बिहान १० बजेसम्म प्राप्त तथ्यांकअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिमका ६० भन्दा बढी केन्द्रमा वर्षा मापन गरिएको छ। अछाम मा ८.६, सुर्खेत मा ७.६, डडेलधुरा मा ५.२, रोल्पा मा ८.२, प्युठान मा ५.२ र चितवन मा ४.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
यसैगरी कालीकोट, डोटी, रुकुम, म्याग्दी, बागलुङ, दाङ र अर्घाखाँची लगायत जिल्लामा पनि हल्का वर्षा भएको जनाइएको छ। वर्षा प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको विभागले जनाएको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी प्रदेश र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
विभागले विशेष गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।



