- भदौ ८, २०८२
- No Comment
- 90
रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

रौतहट — रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सडक किनारमा आइतबार बिहान सुटकेसभित्र एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरीका प्रहरी निरीक्षक रुद्र कडेलका अनुसार शव माधवनारायण–६ की २६ वर्षीया रुबिकुमारीको हो। शनिबार राति नै सडकमा बेवारिसे अवस्थामा डोरीले बाँधिएको सुटकेस देखिए पनि प्रहरीको शंका लागेकाले तत्काल नखोली आइतबार बिहान खोल्दा शव भेटिएको हो।
प्रहरीले मृतकको सनाखत भइसकेको र आफन्तहरूले पुष्टि गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक कडेलले बताए।
प्रहरीले राति आसपासको क्षेत्रको सीसीटीभी फुटेज समेत संकलन गरी शव कसले ल्याएको भन्नेबारे अनुसन्धान गरिरहेको छ।