- जेष्ठ २९, २०८३
- No Comment
- 13
वीरेन्द्रनगरमा यु–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस फाइनलमा, बागमती बाहिरियो

सुर्खेत, जेठ २९ — वीरेन्द्रनगरमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेस प्रदेश फाइनलमा पुगेको छ भने घरेलु टोली बागमती उपाधि होडबाट बाहिरिएको छ। मधेसले लगातार पाँचौं जित निकाल्दै १० अंकसहित एक खेलअघि नै फाइनल यात्रा सुनिश्चित गरेको हो।
शुक्रबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा मधेसले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६१ रन बनायो। जवाफमा १६२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ४ विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो।
मधेसका लागि ‘प्लेयर अफ दि म्याच’ प्रतिमा साहले ४७ बलमा ६८ रनको अविजित इनिङ्स खेलिन्। उनले ३ चौका र ५ छक्का प्रहार गरिन्। ओपनर सना प्रवीनले ५७ बलमा १० चौकासहित ६२ रनको योगदान दिइन्। बलिङतर्फ मधेसका साक्षी कुमारी यादव, सुस्मिता कुमारी यादव, आरती महतो र प्रतिमा साहले समान १–१ विकेट लिए।
लुम्बिनीका लागि सुप्रिया बुढा मगर ४४ रनमा अविजित रहिन् भने कप्तान अञ्जी पाठकले ३२ रन जोडिन्। तर टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन।
अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई रोमाञ्चक खेलमा पराजित गर्यो। पहिले ब्याटिङ गरेको कोशीले कमजोर सुरुवातका बीच ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कोशीका लागि पूर्णिया राजवंशीले सर्वाधिक २७ रन बनाइन् भने कप्तान टीका शाहले १५ रन जोडिन्।
जवाफी ब्याटिङमा गण्डकीका कप्तान कुसुम गोदारले अविजित ४२ रन बनाए पनि टोलीलाई जितसम्म पुर्याउन सकिनन्। कोशीकी रञ्जना साउँदले उत्कृष्ट बलिङ गर्दै निर्णायक भूमिका निभाइन् र ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।
यता कालुङचोक मैदानमा भएको खेलमा बागमती प्रदेशले कर्णालीलाई पराजित गरे पनि प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा १३० रन बनाएको थियो।
लक्ष्य पछ्याएको कर्णाली कमजोर प्रदर्शन गर्दै सस्तैमा समेटियो। कप्तान तिर्सना विश्वकर्माले ४३ रन बनाए पनि अन्य ब्याटरले साथ दिन सकेनन्।
बागमतीका लागि कृष्मा गुरुङले अलराउन्ड प्रदर्शन गर्दै अविजित १५ रन बनाउनुका साथै ५ विकेट लिएर खेलको ‘प्लेयर अफ दि म्याच’ बनिन्।



