रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन् ।
मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो । मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह पक्षले विरोध गर्दै उद्घाटन रोक्ने प्रयास गर्दा दुवै पक्षबीच भनाभन हुँदै हात हालाहाल भएको प्रहरीले जनाएको छ ।
झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएका जिल्ला प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले जानकारी दिए । घाइतेहरूलाई गरुडा–४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको जनाएको छ । झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बने पनि सुरक्षाकर्मीले भीड नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।