- असार १३, २०८३
- No Comment
- 11
सार्वजनिक बिदाका दिन पनि चौकुने गाउँपालिकाबाट निरन्तर सेवा प्रवाह

सुर्खेत। असार मसान्तलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा पनि चौकुने गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालन गरी नियमित सेवा प्रवाहलाई निरन्तरता दिएको छ। बिदाका कारण सेवाग्राहीका काम प्रभावित नहोस् र विकास निर्माणसँग सम्बन्धित कार्यहरू समयमै सम्पन्न होऊन् भन्ने उद्देश्यले चौकुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिकसहित सम्पूर्ण शाखाका कर्मचारीहरू कार्यालयमा उपस्थित भई सेवा प्रवाहमा खटिएका छन् ।
चौकुने गाउँपालिकामा सार्वजनिक बिदाका दिन पनि विभिन्न विकास आयोजनाको भुक्तानी, उपभोक्ता समितिका भुक्तानी, आर्थिक प्रशासनसम्बन्धी काम, फाइल व्यवस्थापन, योजना कार्यान्वयनसँग सम्बन्धित प्रक्रिया तथा अन्य अत्यावश्यक प्रशासनिक सेवा नियमित रूपमा सञ्चालन गरिएको छ।
यसबाट सेवाग्राहीले समयमै सेवा प्राप्त गर्नुका साथै विकास निर्माणका काममा ढिलाइ हुन नदिने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर बिकले नागरिकलाई छिटो, सरल र गुणस्तरीय सेवा उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएकाले सार्वजनिक बिदाका दिनसमेत आवश्यक सेवा सञ्चालन गरिएको बताउनुभयो। उहाँले विकास आयोजनाको भुक्तानी, प्रशासनिक कार्य तथा सेवाग्राहीका अत्यावश्यक कामलाई प्राथमिकतामा राखेर कर्मचारीहरूलाई परिचालन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सम्पन्न हुँदा विकास निर्माणका कामले पनि गति लिने विश्वास गरिएको छ। चौकुने गाउँपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यका साथ आवश्यकताअनुसार बिदाका दिनसमेत कार्यालय सञ्चालन गर्दै आएको जनाएको छ। गाउँपालिकाको यस पहलले सेवाग्राहीको समयको बचत हुनुका साथै स्थानीय सरकारप्रति नागरिकको विश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।



