- साउन ३०, २०८२
- No Comment
- 70
टप एन्ड टी-२० सिरिज : एनटीविरूद्ध बलिङमा नेपाल

साउन ३०। अस्ट्रेलियाको डार्बिनमा शुक्रबारदेखि सुरु भएको टप एन्ड टी-२० क्रिकेट सिरिजमा नेपालले आफ्नो पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) विरुद्ध खेलिरहेको छ। टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो।
नेपालको पहिलो खेलमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखसहित लोकेश बम, रोहितकुमार पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, सन्दीप लामिछाने र साहब आलम मैदानमा उत्रिएका छन्।
सिरिजमा अस्ट्रेलियाको बिग ब्यासका एकेडेमी टोलीहरू, पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ टोलीसमेत सहभागी छन्। नेपालले शनिबार बंगलादेश ‘ए’ सँग, सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलबर्न रेनेगेड्स एकेडेमी र शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ।
यो भ्रमण आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोटको तयारीको हिस्सा हो। सिरिजपछि नेपालले अस्ट्रेलियामा थप एक साता अभ्यास गर्नेछ र क्रिकेट एसिटीसँग २६ अगस्टमा दुई तथा साउथ अस्ट्रेलियासँग २८ अगस्टमा दुई गरी चार वटा टी-२० खेल खेल्नेछ। त्यसपछि ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल हुने कार्यक्रम छ।
अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ। एसिया–ईस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोली सहभागी हुनेछन् र शीर्ष तीन टोलीले आगामी वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।
नेपाली टोली: रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम, साहब आलम।