• फाल्गुन २८, २०८१
  • No Comment
  • 39

सिरहाका एक वडाध्यक्षले एक लाख भारूमा  भारतियलाई  दिलाए नागरिकता

सिरहाका एक वडाध्यक्षले भारतीय नागरिकलाई गैरकानुनी रूपमा नेपाली नागरिकता दिलाएको खुलासा भएको छ। सिरहा क्षेत्र नम्बर २ का सांसद तथा सोही स्थानीय तहका राजकिशोर यादवले प्रतिनिधिसभा बैठकमा यो विषय उठाएपछि घटना सार्वजनिक भएको हो।

सिरहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारत बिहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका मोस्ताक मियाँले नेपाली नागरिकता लिएका थिए। उनले वडाबाट सिफारिस लिएर २०८० असारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता प्राप्त गरेका थिए।

नागरिकता बनाउनका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई मोस्ताक मियाँको बुबाआमा देखाएर वडाध्यक्ष अन्सारीले सनाखत गराएको उजुरीहरूमा उल्लेख छ।

वडाध्यक्ष अन्सारीको सिफारिसमा भारतीय नागरिकलाई नागरिकता दिइएको भन्दै नरहा–३ का इनुस अन्सारीले जिल्ला प्रशासन कार्यालयदेखि गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी दिएका छन्। तर, हालसम्म कुनै कारबाही अघि नबढेको गुनासो छ।

जनता समाजवादी पार्टी नेपालका उपाध्यक्षसमेत रहेका सांसद यादवले संसदमा नागरिकता खरिद–बिक्रीको कार्य सत्तापक्षबाट भइरहेको आरोप लगाए। वडाध्यक्ष अन्सारी एमालेका नेता हुन्। सांसद यादवका अनुसार, वडाध्यक्ष सत्तारूढ दलका भएकाले उनीमाथि कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो। उनले गलत सिफारिस गर्ने वडाध्यक्ष अन्सारीलाई कडा कारबाही गर्न माग गरे।

स्थानीय इनुस अन्सारीले सीडीओ कार्यालयमा उजुरी दिएपछि प्रमुख जिल्ला अधिकारीले मोस्ताक मियाँलाई बोलाएर सोधपुछ गरेका थिए। तर, थप कारबाही अघि नबढेको इनुसको भनाइ छ।

उनले भने, ‘मोस्ताक भारतीय नागरिक हुन् भन्ने कुरा म पहिल्यैदेखि जान्दथेँ। सीडीओ कार्यालयबाट नागरिकता बनेर निस्कँदा मलाई शंका लागेको थियो। पछि मोस्ताकले नै वडाध्यक्षलाई एक लाख भारु दिएर नागरिकता बनाएको बताएपछि मैले उजुरी दिएँ।’

उनले उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयमा समेत दिए पनि हालसम्म सुनुवाइ नभएको गुनासो गरे।

सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार वडाध्यक्ष अन्सारी, नागरिकता बनाउने व्यक्ति र सनाखत बस्नेहरूसँग बयान लिइएको छ। थप अनुसन्धान जारी छ।

वडाध्यक्ष अन्सारीले पनि आफूले बयान दिइसकेको बताएका छन्। उनले भने, ‘मबाट भुलवश फाइलमा हस्ताक्षर भएको हो। मैले गल्ती स्वीकार गर्दै नागरिकता खारेज गर्न पत्र पठाइसकेको छु। नागरिकता पनि जफत भइसकेको छ।’

उनले नागरिकताको थुप्रै फाइल टेबलमा रहँदा गल्ती भएको दाबी गरे। ‘पालिकाको कार्यक्रमको व्यस्तता थियो, सिफारिसका लागि फाइल आएपछि केही नहेरी हस्ताक्षर गरिदिएँ,’ उनले भने। साथै, आफूलाई विपक्षीहरूले जबरजस्ती फसाउन खोजेको आरोप लगाए।

तर, आमाबुबा देखाइएका अमानत मियाँ र रजिना खातुनले भने मोस्ताकलाई नचिनेको बताए। अमानतले भने, ‘मोस्ताक को हुन्, हामी चिन्दैनौँ। वडा कार्यालयमा आफ्नो कामका लागि गएको बेला अध्यक्षज्यूले यसमा हस्ताक्षर गर्न भन्नुभयो, मैले केही नहेरी हस्ताक्षर गरिदिएँ। पछि थाहा पाएँ, नागरिकता बनेको रहेछ।’

नागरिकता जस्तो संवेदनशील कागजात खरिद–बिक्री हुनु गम्भीर अपराध हो। यस प्रकरणमा अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउनुपर्ने आवाज उठ्न थालेको छ। हालसम्म कारबाही नहुँदा यसले सरकारको जवाफदेहिता र सुशासनमा प्रश्न उठाएको छ।

 

सम्बन्धित खबर

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

वीरेन्द्रनगर यरिचोकमा रहेको वलि स्टोरको गोदाममा आगलागि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर ३ यरिचोक पतेनीलाइनस्थित वली स्टोर एण्ड सप्लायर्सको गोदाममा आगलागि भएको छ । विहिबार राती अन्दाजी १ बजेको…
उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

उद्योग वाणिज्य सङ्घ दैलेखमा थापाको प्यानल विजयी

दैलेख । दैलेख उद्योग वाणिज्य सङ्घ दैलेखको दशौँ अधिवेशन तथा निर्वाचन भएको छ। उक्त निर्वाचनमा ३३१ मत प्राप्त गरी नरेन्द्र थापा…
युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

युनिसेफ नेपालद्वारा कार्यशाला गोष्ठी

दैलेख। युनिसेफ नेपाल को आर्थिक सहयोगमा नारायण नगरपालिका दैलेखको आयोजनामा नारायण नगरपालिका १ को वडा कार्यालयमा कार्यशाला गोष्ठी गरिएको छ। बिहिबार…

Leave a Reply

Your email address will not be published. Required fields are marked *