- असार ९, २०८३
- No Comment
- 9
सुर्खेतकाे बराहताल गाउँपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा सम्पन्न

सुर्खेत। बराहताल गाउँपालिकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित पालिका घोषणा समारोह सभा सम्पन्न गरेको छ। बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खोप समन्वय समितिका कार्यवाहक अधिकृत रामलाल आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने प्रमुख प्रशासकीय अधिकृत प्रेम डि.सी. र बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगर विशेष अतिथिका रूपमा सहभागी रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा जिल्ला खोप समन्वय समितिका कार्यवाहक अधिकृत रामलाल आचार्यले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधार भएको उल्लेख गर्दै पूर्णखोप सुनिश्चितता कायम राख्न सबै पक्षको निरन्तर समन्वय र सक्रियता आवश्यक रहेको बताउनुभयो। उहाँले खोपबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रमका विशेष अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत प्रेम डि.सी ले पूर्णखोप घोषणा केवल औपचारिकता नभई यसलाई दीर्घकालीन रूपमा कार्यान्वयन गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँले स्वास्थ्य क्षेत्रको गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै खोप कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले स्वस्थ र समृद्ध समाज निर्माणका लागि बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै पूर्णखोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि खोप सेवाको पहुँच विस्तार गर्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका अध्यक्ष तथा बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारीले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा बराहताल गाउँपालिकाका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यस उपलब्धिलाई कायम राख्दै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो ।
साथै, खोप अभियानलाई सफल बनाउन सहयोग पुर्याउने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सरोकारवाला निकाय तथा सम्पूर्ण समुदायप्रति धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्णखोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुका साथै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो। सहभागीहरूले पूर्णखोप अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि गाउँपालिकाभित्र जन्मने प्रत्येक बालबालिकाले समयमै सम्पूर्ण खोप प्राप्त गर्ने वातावरण निर्माणमा सामूहिक रूपमा लागिपर्ने प्रतिबद्धता जनाएका थिए। भने कार्यक्रम संचालन राजिमान बुढाले गर्नु भएको थियो ।



