- असार ५, २०८३
- No Comment
- 3
चौकुने गाउँपालिकाकाे एक होटलमा वृद्धको अचानक मृत्यु

सुर्खेत, ५ असार । सुर्खेतको चौकुने गाउँपालिकास्थित एक होटलमा एक वृद्धको अचानक बिरामी भई मृत्यु भएको छ।
मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–४ बराईचे निवासी ६८ वर्षीय रोजबहादुर शाही रहेका छन्।
प्रहरीका अनुसार शाही बिहीबार बिहान ८:२० बजे वीरेन्द्रनगर–३ निवासी ४२ वर्षीय खगेन्द्र थापाले चलाएको क.प्र.०२०० ख.०१९५ नम्बरको मिनी बसमा चढेर सुर्खेत सदरमुकामबाट लगामतर्फ गएका थिए। सोही दिन अपराह्न ४:३० बजे चौकुने गाउँपालिका–३ बेतामस्थित राजु रामजालीको होटलमा पुगेका उनी राति ८:३५ बजे अचानक बिरामी परेका थिए।
बिरामी परेको केही समयपछि नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लगामबाट प्रहरी सहायक निरीक्षक ज्योति सिंहको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धानका लागि राति ९:३० बजे इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको नेतृत्वमा सोको (SOCO) सहित पाँच सदस्यीय विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
राति ११:४० बजे घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पठाइएको छ। शवसँग मृतकका भाइ पनि रहेका छन्।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



