- असार ५, २०८३
- No Comment
- 10
किन हुन्छ हृदयाघात? लक्षण, उपचार र रोकथामका उपाय

काठमाडौं । मुटुरोग विश्वव्यापी रूपमा पुरुष तथा महिला दुवैको मृत्युको प्रमुख कारणमध्ये एक मानिन्छ। रोकथाम र नियन्त्रण सम्भव भए पनि जीवनशैली, स्वास्थ्य सेवाको पहुँच र आर्थिक अवस्थाका कारण यसको प्रभाव देशअनुसार फरक देखिन्छ। विशेषज्ञहरूका अनुसार हृदयाघात समयमै पहिचान र उपचार गर्न सके ज्यान जोगाउन सकिने अवस्था हो।
हृदयाघात (हार्ट अट्याक) मुटुमा रगत पुर्याउने धमनीहरूमा अचानक अवरोध उत्पन्न हुँदा हुने आकस्मिक अवस्था हो। सामान्यतया धमनीभित्र रगत जम्ने वा बोसो जमेर रक्तप्रवाह रोकिँदा मुटुको केही भागमा आवश्यक अक्सिजन पुग्न बन्द हुन्छ। यस्तो अवस्थामा मुटुका कोषिकाहरू क्षतिग्रस्त हुने वा मर्ने जोखिम बढ्छ।
हृदयाघातका प्रमुख लक्षण
चिकित्सकहरूका अनुसार हृदयाघातका लक्षण व्यक्ति अनुसार फरक हुन सक्छन्। सामान्य लक्षणहरूमा:
- छाती दुख्ने वा भारी महसुस हुने
- दुखाइ छातीबाट बङ्गारा, गर्दन, पाखुरा वा पिठ्युँतिर फैलिनु
- सास फेर्न गाह्रो हुनु
- अत्यधिक पसिना आउनु
- कमजोरी, रिङ्गटा वा बेचैनी महसुस हुनु
- वाकवाकी लाग्नु वा बान्ता हुनु
- मुटुको धड्कन छिटो वा अनियमित हुनु
कतिपय अवस्थामा दोस्रो पटकको हृदयाघातमा पहिलेजस्तै लक्षण नदेखिन पनि सक्छन्। केही व्यक्तिमा कुनै स्पष्ट लक्षण नदेखिने अवस्थालाई सुशुप्त (Silent) हृदयाघात पनि भनिन्छ।
उपचार कसरी गरिन्छ?
हृदयाघातको उपचार यसको प्रकृति र गम्भीरतामा निर्भर गर्छ। प्रारम्भिक उपचारमा रगत जमेको हटाउने औषधि (थ्रोम्बोलाइसिस) प्रयोग गर्न सकिन्छ।
हाल सबैभन्दा धेरै प्रयोग हुने उपचारमध्ये कोरोनरी एन्जियोप्लास्टी प्रमुख मानिन्छ। यस प्रक्रियामा शरीरको रक्तनलीमार्फत क्याथेटर मुटुको धमनीसम्म पुर्याएर बन्द वा साँघुरिएको भाग खोलिन्छ र आवश्यक परे स्टेन्ट राखिन्छ।
स्टेन्टका विभिन्न प्रकार प्रयोग गरिन्छ:
- साधारण धातु स्टेन्ट
- औषधि लेपन गरिएको स्टेन्ट
- शरीरमै क्रमशः विलय हुने आधुनिक स्टेन्ट
कतिपय अवस्थामा एन्जियोप्लास्टी पर्याप्त नहुने हुँदा ओपन हार्ट सर्जरी वा बाइपास शल्यक्रिया समेत आवश्यक पर्न सक्छ।
उपचारपछि पनि जीवनशैली सुधार आवश्यक
विशेषज्ञहरूका अनुसार उपचारपछि पनि जीवनशैली परिवर्तन नगरे पुनः समस्या दोहोरिन सक्छ। त्यसैले:
- चिकित्सकको नियमित निगरानीमा रहने
- औषधि समयमै सेवन गर्ने
- धूम्रपान त्याग्ने
- मधुमेह र रक्तचाप नियन्त्रणमा राख्ने
- शरीरको तौल सन्तुलित राख्ने
- बोसोयुक्त तथा अत्यधिक कोलेस्ट्रोलयुक्त खाना कम गर्ने
- ताजा फलफूल र हरियो सागसब्जी बढाउने
हृदयाघातबाट बच्ने उपाय
दैनिक जीवनमा केही बानी परिवर्तन गरेर जोखिम घटाउन सकिन्छ:
- नियमित शारीरिक व्यायाम गर्ने
- दैनिक हिँड्ने बानी बसाल्ने
- लिफ्टको सट्टा भर्याङ प्रयोग गर्ने
- अत्यधिक तनावबाट टाढा रहने
- नियमित स्वास्थ्य परीक्षण गराउने
शंका लागे के गर्ने?
यदि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, पसिना आउने वा हृदयाघातको अन्य लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्था वा मुटुरोग उपचार केन्द्रमा सम्पर्क गर्नुपर्छ। समयमै उपचार सुरु गर्नु नै मुटुमा हुने दीर्घकालीन क्षति कम गर्ने सबैभन्दा प्रभावकारी उपाय मानिन्छ।
-(मुटुरोग विशेषज्ञ डा सिलवाल नर्भिक अस्पतालमा कार्यरत छन्।)



