- असार ५, २०८३
- No Comment
- 5
प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने आरोपमा जाजरकोटका चनारा पक्राउ

जाजरकोट। नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा जाजरकोटका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जाजरकोटको छेडागाड नगरपालिका–१२ निवासी ३० वर्षीय धर्मराज चनारा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चनाराले ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारेर सविता पुनबाट पटक–पटक गरी कुल ३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोप लागेको छ।
आफू ठगिएको महसुस भएपछि पीडित सविता पुनले चनाराविरुद्ध जाहेरी दर्ता गराएकी थिइन्। सोही जाहेरीका आधारमा जिल्ला अदालत जाजरकोटबाट पक्राउ अनुमति लिएर प्रहरीले खोजी कार्य अघि बढाएको थियो।
खोजीका क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको टोलीले चनारालाई २०८३ असार २ गते बिहान ११ बजे छेडागाड नगरपालिका–१२ स्थित फेलापारी क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका चनारालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुधिर कुमार खड्काले जानकारी दिएका छन्।



