- बैशाख ७, २०८३
- No Comment
- 1
संघीय निर्णयविपरीत जुम्लाको कनकासुन्दरी गाउँपालिकाको कदम: आइतबार पनि खुल्ने विद्यालय

जुम्ला — जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारको निर्णयविपरीत आइतबार बिदा नदिने तथा वैशाख ७ गतेदेखि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
आइतबार बसेको गाउँ कार्यपालिका बैठकले सामुदायिक विद्यालयहरू आइतबारसमेत सञ्चालन गर्ने र शैक्षिक सत्र २०८३ को नियमित कक्षा वैशाख ७ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो। कार्यवाहक गाउँपालिका अध्यक्ष प्रेमकली बुढाले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्ने लक्ष्यसहित निर्णय गरिएको बताए।
संघीय सरकारअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेपछि मात्र नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएको थियो। साथै, आइतबार सार्वजनिक बिदा दिने निर्णय पनि गरिएको थियो। तर गाउँपालिकाले उक्त निर्णय व्यवहारिक नभएको भन्दै कार्यान्वयन नगर्ने अडान लिएको हो।
गाउँपालिकाद्वारा जारी सूचनामा हिमाली जिल्लाहरूमा हिउँदका कारण लामो समय विद्यालय बन्द रहने उल्लेख गरिएको छ। जुम्लामा पुस महिनामा १५ दिन र माघ महिनामा ३० दिन गरी करिब ४५ दिन बिदा हुने हुँदा शैक्षिक सत्र छोटिने र पाठ्यक्रम पूरा गर्न कठिन हुने अवस्था रहेको निष्कर्ष निकालिएको छ।
यही अवस्थालाई ध्यानमा राख्दै वैशाख ६ गते बसेको कार्यपालिका बैठकले तत्काल विद्यालय सञ्चालन गर्ने र आइतबारसमेत कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। यसबाट शैक्षिक गतिविधि नियमित बनाउने र विद्यार्थीको सिकाइमा सुधार ल्याउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।
कनकासुन्दरी गाउँपालिका जुम्लाका आठ स्थानीय तहमध्ये संघीय निर्णयविपरीत यस्तो कदम चाल्ने पहिलो पालिका बनेको छ। स्थानीय तहको स्वायत्त अधिकार प्रयोग गर्दै गरिएको यस निर्णयलाई शिक्षा क्षेत्रका सरोकारवालाले चासोका साथ हेरेका छन्।
गाउँपालिकाले निर्णय कार्यान्वयनका लागि सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा सम्बन्धित निकायलाई जानकारी गराइसकेको जनाएको छ। साथै, नियमित पठनपाठन प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरिएको छ।



