पाटनमा चक्कु प्रहारबाट घाइते दाजुभाइको मृत्यु, एक पक्राउ
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्णमन्दिर अगाडि चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुई दाजुभाइको मृत्यु भएको छ ।
बुधबार भएको घटनामा झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङमाथि चक्कु प्रहार भएको थियो । गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक सुमित र सिर्जन दाजुभाइ हुन् । घटनापछि फरार रहेका मुख्य आरोपित सन्जीबच नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट ‘रङ नम्बर’ मा फोन जाँदा सुरु भएको विवादले घटनाको रूप लिएको खुलेको छ । नेम्बाङ दाजुभाइको फोन आरोपित नेपालीको नम्बरमा पुगेपछि दुवै पक्षबीच फोनमै भनाभन भएको थियो ।
सोही विवाद समाधान गर्न इमाडोल बस्ने नेम्बाङ दाजुभाइ आरोपीलाई भेट्न पाटनस्थित कृष्णमन्दिर पुगेका थिए । त्यही क्रममा विवाद चर्किँदा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।