- पुस २, २०८२
- No Comment
- 290
बरेकोटबाट डिजिटल संसारसम्मः JRG Vlogs का गणेश सिंहको प्रेरणादायी यात्रा

जाजरकोट — पछिल्लो समय TikTok, Facebook र YouTube जस्ता सामाजिक सञ्जालमा निकै चर्चामा आएका बरेकोटका भ्लगर गणेश सिंह (JRG Vlogs) ले आफ्ना वास्तविक जीवनका संघर्ष र गाउँले परिवेशलाई भ्लगमार्फत प्रस्तुत गर्दै दर्शकको मन जित्न सफल भएका छन्।
कर्णाली प्रदेशको जाजरकोट जिल्लाको बरेकोट गाउँपालिकाको एक दुर्गम क्षेत्रमा जन्मिएका गणेश सिंह सानैदेखि जिद्दी र फरक सोच भएका व्यक्ति हुन्। पढाइ–लेखाइभन्दा बाहिरका विषयमा बढी रुचि राख्ने उनी पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण १८ वर्षको उमेरमै जिम्मेवारी र सपनाको भारी बोकेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य भए।
विदेश जाने क्रममा साउसँग १०० रुपैयाँको ५ रुपैयाँ ब्याजदरमा करिब २० लाख रुपैयाँ ऋण लिएर गएका गणेश दलालको ठगीमा परे। उनी ११ महिनासम्म अलपत्र परेपछि बल्लतल्ल नेपाल फर्किन सफल भए। नेपाल फर्किएपछि पनि साउको ऋणले उनलाई सहज जीवन जिउन दिएन। करिब १–२ वर्षसम्म काठमाडौंमा कामको खोजीमा भौतारिँदा कहिले सडकमै खाएर सुत्नुपर्यो भने कहिले साथीहरूको कोठामा आश्रय लिनुपर्यो।
बाल्यकालदेखि नै भ्लगर बन्ने ठूलो सपना बोकेका गणेश केही समयपछि गाउँ फर्किए। गाउँमा बेरोजगारी र ऋणको चापबीच उनले नगरेको काम छैन भन्ने उनी स्वयं बताउँछन्। यही संघर्षबीच उनले भान्जाको मोबाइल प्रयोग गरेर भिडियो बनाउँदै भ्लग यात्रा सुरु गरे।
सुरुमा आफ्नै गाउँका दार्शनिक पात्रदेखि गाउँकै रमित उपनामले चिनिने खरायोसमेत भ्लगमा समेट्दै आएका गणेशले पछि गाउँकै स्थानीय भाषामा “बोई” र “बाई” शीर्षकका भिडियो सार्वजनिक गर्न थाले। यी भिडियोहरू दर्शकमाझ अत्यन्त लोकप्रिय बने र “बोई” पात्रलाई दर्शकले विशेष माया दिन थाले।
मानिसका आ–आफ्ना सोच र दृष्टिकोण भए पनि गणेश सिंह आफू नखाई अरूको भलो चाहने व्यक्ति भएको गाउँले बताउँछन्। उनले भ्लगमा देखिने “बोई” पात्रलाई कहिले कपडा, कहिले सोलार बत्ती, कहिले आर्थिक सहयोग त कहिले खाद्यान्नलगायत विभिन्न सामग्री सहयोग गर्दै आएका छन्।
हाल गणेश सिंहको YouTube च्यानल JRG Vlogs समेत सञ्चालनमा छ, जहाँ उनी ग्रामीण जीवन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर सामग्री प्रस्तुत गर्दै आएका छन्। साधारण गाउँबाट सुरु भएको उनको यो यात्रा आज धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ।



