- भदौ ३१, २०८२
- No Comment
- 63
युएईले रोक्यो नेपालीलाई भिजिट भिसा दिन

काठमाडौँ। संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोकेको समाचार बाहिर आएको छ। पछिल्लो केही दिनदेखि भिजिट भिसा आवेदन लिने कार्य स्थगित गरिएको हो।
यूएईस्थित नेपाली दूतावासका अनुसार औपचारिक जानकारी भने प्राप्त भइसकेको छैन। दूतावासले अनौपचारिक रूपमा भिसा रोकिएको समाचार पाएको जनाएको छ। युएई सरकारले यसबारे कुनै सार्वजनिक सूचना जारी नगरे पनि भिसा सेवा प्रदायक संस्थाहरूले नेपाली नागरिकको आवेदन लिन छाडेका छन्।
भदौ २४ गते नेपालमा भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेप्रति सरकारले कारबाही गर्ने घोषणा र जेलबाट कैदी फरार भएको घटना सार्वजनिक भएपछि युएईले यस्तो कदम चालेको बताइन्छ।
नेपालबाट भिजिट भिसा लिएर सर्वाधिक नागरिक जाने देश युएई हो। पछिल्लो समय भिजिट भिसा लिएर रोजगारी खोज्न जाने प्रवृत्ति बढिरहेको छ। दूतावासका तथ्यांकअनुसार हाल युएईमा भिजिट भिसाबाट रोजगारी भिसामा रूपान्तरण गर्ने नेपालीको संख्या तीन लाख पुगेको छ।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द भएकोबारेमा औपचारिक पत्राचार नआएको स्पष्ट पारे। ‘भिसा बन्द गरेको सूचना नेपाली समुदायबाट पाएका छौँ तर औपचारिक रूपमा आइसकेको छैन। यसबारे सोधखोज गर्नेछौँ,’ राजदूत क्षेत्रीले भने।