- भदौ ३०, २०८२
- No Comment
- 70
जुम्ला जेल ब्रेक: भागेका ३६ मध्ये १४ पक्राउ, २२ अझै फरार

जुम्ला । जुम्लास्थित जिल्ला कारागारबाट गत मंगलबार राति भागेका ३६ जना कैदीमध्ये १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने २२ जना अझै फरार रहेका छन्। फरार कैदीहरूको खोजीका लागि प्रहरीले व्यापक अपरेशन सञ्चालन गरिरहेको जिल्ला प्रहरी कार्यालय, जुम्लाले जनाएको छ।
गत मंगलबार राति कैदीहरूले सुरक्षाकर्मी र कारागारका नाइकेलाई चिर्पट प्रहार गरी ढोका फोडेर भागेका थिए। घटनालगत्तै ५ जना कैदी तत्कालै पक्राउ परेका थिए भने पछिल्ला दिनमा विभिन्न स्थानबाट थप ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार फरार रहेका कैदीहरूलाई सम्पर्कमा आउनका लागि उनीहरूका आफन्तमार्फत समेत आग्रह गरिएको छ। प्रशासनले स्वेच्छाले आत्मसमर्पण नगरे कानुनअनुसार थप कैद सजाय हुने चेतावनी दिएको छ।
घटनापछि कारागारको सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी सुरक्षाको जिम्मेवारी सम्हालिएको अधिकारीहरूले बताएका छन्।