• साउन १९, २०८२
  • No Comment
  • 177

मुगुमा निरन्तर वर्षा: ९ घर भत्किए, परिवारहरू उठिबासमा

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–१० स्थित चराप गाउँमा लगातारको अविरल वर्षाका कारण नौ घर प्रभावित भएका छन्। साउन ११ गतेदेखि १४ गतेसम्म परेको वर्षाले चार घर पूर्ण रूपमा भत्किएका छन् भने पाँच घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यससँगै नौ परिवार आवासविहीन भएका हुन्।

स्थानीय बासिन्दा देवी कृष्णा बुढाका अनुसार साउन १४ गते बेलुका करिब ५ बजेतिर लगातारको झरीपछि चार घर एकैपटक भत्किएका थिए। ती घरसँग जोडिएका पाँच घरमा पनि चिरा परेको, भित्ताहरू भत्किएको र बस्न अयोग्य अवस्थामा पुगेको उनले जानकारी दिए।

“भत्किएको घरभित्र राखिएका अन्न, भाँडाकुँडा, लत्ताकपडा सबै बगायो,” उनले दुःख व्यक्त गरे, “घर त गयो, हातमुख जोर्ने साधन पनि सकियो।”

घटनामा मानवीय क्षति नभए पनि पीडित परिवार अहिले छिमेकीको शरणमा छन्। उनीहरूलाई खानपिन र त्रिपालको व्यवस्था समेत अहिलेसम्म सरकारले नगरेको पीडित श्रृजना बढुवालले बताइन्। “५/६ दिन भइसक्यो, सरकारले त्रिपालसम्म दिइसकेको छैन,” उनले भनिन्, “हामी छिमेकीले दिएको अन्नपानी खाएर दिन काटिरहेका छौं।”

जिल्ला प्रहरी कार्यालयले घटनास्थल पुगेर मुचुल्का उठाएको भए पनि राहतको व्यवस्था हुन सकेको छैन। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले राहत वितरण प्रक्रियामा ढिलाइ भएको स्वीकार गर्दै भने, “राहत सामग्री स्वीकृत गर्नुपर्ने प्रक्रिया हुन्छ, त्यसैले केही ढिलाइ भएको हो। चाँडै व्यवस्थापन गरिन्छ।”

यता, छायाँनाथ रारा नगरपालिका–१३ का अक्कल बोहोरा, जो हाल स्पेनमा बसोबास गर्दै आएका छन्, पीडित परिवारलाई व्यक्तिगत रूपमा राहत सामग्री सहयोग गरेका छन्। उनले पीडितलाई एक बोरा चामल, त्रिपाल र केही अन्य उपभोग्य सामग्री पठाएका छन्।

पीडित परिवारले यथाशीघ्र त्रिपाल, अन्न, कपडा र अस्थायी बासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

सम्बन्धित खबर

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक जनाको मृत्यु

सुर्खेतमा कुलपूजाका लागि अछाम जाँदै गर्दा भीरबाट लडेर एक…

सुर्खेत, असार १४ — सुर्खेतको पञ्चपुरी नगरपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–९ कुलिबाद निवासी अन्दाजी…
जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्लामा चिकित्सकमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार…
‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुरु हुँदै

कर्णाली । कर्णाली प्रदेशमा क्रिकेट खेलको विकास र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यसहित ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु हुँदैछ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *